गाईजात्राः ओ हरिबहादुर


सानो तर तिख्खर स्वरमा ‘त्यसो गरे, कसो होला’ भन्ने । तर, खासै जुक्ति नभएका । छिमेकमा भाँडभैलो मच्याउने । आफुलाई खुब ‘बाठो छु’ भनठान्ने । तर, साँच्चै बाठो चाहिँ होइनन् । तपाईको संगतमा पनि यस्ता ‘हरिबहादुर’ होलान् ।

यो आम प्रवृत्ति हो, जो गाउँ-छिमेकमा छ्यापछ्याप्ती पाइन्छ । सिंहदरबारदेखि सडकसम्म हरिबहादुरहरु फेला पर्छन् ।


हरिवंशकै भाषामा ‘हरिबहादुर क्रुर व्यक्ति होइनन् । तर, एटिच्युट चाहिँ खराब हो ।’ हास्य टेलिश्रृंखला ‘मदनबहादुर हरिबहादुर’को एउटा नेगेटिभ चरित्र हो, हरिबहादुर । शीरमा सेतो टोपी, कमिजमाथि इस्टकोट र सुरुवाल लगाउने हरिवहादुर कुतर्क गर्न खप्पिस छन् । र, कुतर्कबाटै आफूलाई सही सावित गर्न सधै असफल प्रयास गरिरहन्छन् ।

कसरी जन्मियो त यो पात्र ?

हरिवंशका अनुसार ‘मदनबहादुर-हरिबहादुर’ एउटा पात्र चाहिएको थियो, रमाइलो खालको । तर, नेगेटिभ क्यारेक्टर । पात्र नेगेटिभ भए पनि उसको भूमिका अहंम थियो । ‘मपाई’ मनोवृत्तिको त्यो चरित्रबाट सामजको विसंगत पाटो खोतल्नु थियो । त्यसैले उसको गेटअप, हाउभाउ, बोलिचाली सबैमा उसको प्रवृत्ति झल्नुपर्ने हुन्थ्यो ।

यही पात्रको खोजी हुँदै थियो । एकदिन हरिबंशले यस्तो आवाज निकाले, जो आफ्नै कार्यलयमा काम गर्ने सहयोगीसँग हुबहु मिल्थ्यो । ‘वास्तवमा मैले उसैको स्वर कपी गरें’ हरिबंश भन्छन्, ‘तर, स्वभाव चाहिँ होइन ।’

कार्यालय सहयोगी कमलप्रसाद सिलवालको जुन बोल्ने शैली थियो, हरिवंशले त्यही आवाज टिपे । तर, प्रवृत्ति भने अरु थुप्रै पात्रबाट सापटी लिइयो । र, सग्लो ‘हरिबहादुर’ जन्माइयो । अन्ततः यो पात्रले टेलिभिजनमा तहल्कै मच्यायो । बच्चादेखि बयस्कसम्मले ‘त्यसो गरे, कसो होला’ भन्दै हरिवहादुरको नक्कल गर्न थाले ।

हरिवंशलाई भने यो पात्रले दिनु दुख दिएछ । जतिबेला टेलिभिजनमा हरिबहादुरको चर्तिकला उत्कर्षमा थियो, त्यसबेला हरिबंशलाई कतिले फोन गर्थे रे, ‘हरिबहादुर जस्तै हाँसिदिनु न’ भन्दै ।

हिन्दी फिल्म ‘अथिति तुम कब जाओगे’मा सुटिङ हेर्न गएको परवेज रावलले शोलेको एक पात्र भेट्छन् । अनि उक्त पात्रलाई देख्नसाथ ‘कितना आदमी थे रे ?’ भनेर सोधेको सोध्यै गर्छन् ।

ठीक यसैगरी हरिबंशलाई पनि प्रशंसकहरुले घेरा हालेर भन्दा रहेछन्, ‘हरिबहादुरले जस्तै गर्नु न ।’ बच्चाहरुले भेट्यो भने पनि ‘हरिबहादुरको जस्तो आवाज निकाल्नु न’ भनेर हैरान बनाउने रहेछ । हरिबंश सम्झन्छन्, ‘हरिबहादुर जस्तो गर्नु न, हरिबहादुरले जस्तो आवाज निकाल्नु न भनेपछि मैले पनि हरिबहादुरको स्वर त घरमै छाडेर आएँ भनिदिन्छु ।’

तक्मे बुढाको रवाफ



पूर्वी पहाड तेह्रथुम पुग्नुहोस् वा पाँचथर, धरानतिर रल्लिनुहोस् वा भोजपुर । तपाईको निम्ति दुर्लभ हुनेछैन, तक्मे बुढाहरु । जहाँ पनि र जहिले पनि ‘तक्मे बुढा’सँग ठोक्किनु हुनेछ ।

उनीहरु मनभरी गुम्सिएको ‘लाहुरको कथा’ सुन्ने धैर्यवान् श्रोताको खोजिमा दौडिरहेका हुन्छन् । फौजी शासनकै रवाफमा बाँचिरहेका तक्मे बुढाहरु बन्दुक, बारुद, बैरी, बीरता र बैभवका लम्बेतान कथा सुनाएर कहिल्यै थाक्दैनन् ।

हास्य टेलिशृंखला ‘मेरी बास्सै’ले जन्माएको पात्र हो यो । टेलिशृंखलाले बिट मारेपनि ‘तक्मे बुढा’को सान-सौकत सेलाएको छैन । त्यही तक्मे बुढाले विलसन विक्रम राईलाई कहिले हङकङ घुमाउँछ, कहिले युरोप टेकाउँछ ।

कसरी जन्मियो त यो पात्र ?

विलसनले ‘तक्मे बुढा’मा आफ्नै बाजेको चरित्र कपी-पेस्ट गरेका रहेछन् । ‘मेरो मावली बाजेले बोल्ने भाका मैले टिपेको’ विलसन भन्छन् । बृटिस आर्मीवाट अवकास पाएका मावली बाजेले जसरी बोल्थे, त्यही शैलीको क्यारिकेचर गर्दा गर्दै तोक्मे बुढाको उदय भएको रहेछ । ‘मैले थुप्रै स्टेज शोहरुमा बाजेको क्यारिकेचर गर्थे’ विल्सन भन्छन्, ‘पछि त्यही बोली सर्लक्कै तक्मे बुढालाई सापटी दिइयो ।’

यसरी तक्मे बुढा जन्माउनुमा केदार घिमिरे ‘माग्ने बुढा’को खास योगदान छ । ‘मैले तक्मे बुढाको क्यारेक्टरबारे धेरैलाई कुरा गरेको थिएँ’ विलसन भन्छन्, ‘तर, कसैले कान थापेनन् । पछि मेरी बास्सैका लागि केदार घिमिरेले यहि क्यारेक्टर रुचाउनुभयो ।’

टेलिभिजनमा यो पात्र यति जम्यो कि, मेरी बास्सैले विश्राम लिएपनि तक्मे बुढाले विश्राम पाएनन् । देशविदेशको स्टेज कार्यक्रममा तक्मे बुढाको माग बढ्यो । हङकङका लाहुरेका बालबच्चाले त आफ्नै बाजे सम्झेर फोटो खिच्न तँछाडमछाड गरे । ‘हङकङमै जन्मिएका र नेपालमा आफ्नो पूख्र्यौली घर नआएका बच्चाहरुले मलाई साँच्चै उनीहरुको बाजे ठाने’ विलसन भन्छन् । यहि चरित्रले विलसनको खल्ती पनि भरिभराउ बनाइदियो ।

झेली खड्काजी



जालझेल गर्ने, बार्गेनिङ गर्ने पात्रसँग त दिनहुँ साक्षात्कार गरिरहनुभएकै होला । औकात भन्दा ठूलो गफ गर्ने, ओभर कन्पिmडेन्ट भएको पात्रको उपस्थितिले समाजमा कहिले जात्रा देखाउँछ त कहिले दिक्क लगाउँछ ।

सीताराम कट्टेलले यस्तै मनोवृत्तिका पात्रलाई काँचको पर्दामा उभ्याए, मेरी बास्सै मार्फत । ‘खड्काजी भनेको ओभर कन्पिmडेन्ट भएको मान्छे हो’ सीताराम भन्छन्, ‘मपाई प्रवृत्तिको ।’ स्वरमा दम नभएपनि आफुलाई भयांकर गिताङ्गे ठान्ने, सानोतिनो जालझेल गर्ने, छल कपट गर्ने यस्तो प्रवृत्ति हरेकजसो सामाजको ‘काउसो’ बनिरहेको हुन्छ ।

ओठ चिरिएका, कपाल घुम्रिएका, जुँगामुठे ‘खड्काजी’ टेलिभिजनमा कसरी जन्मियो ?

कथा गजब छ । प्रसंग सिंगापुरबाट सुरु हुन्छ । सीताराम कट्टेल एक सांगीतिक कार्यक्रमको क्रममा त्यहाँ पुगेका थिए । राती जमघट हुने नै भयो । त्यही जमघटमा संगीतकार महेश खड्काले सबैलाई हँसाए, क्यारिकेचर गरेर । उनै महेश खड्काले गरेको क्यारिकेचरलाई टिपेर खड्काजी जन्माइएको रहेछ ।

अब रह्यो नामको कुरा । यस पात्रको नाम के राख्ने त ? सघन छलफल भयो । अन्तत त्यही नाम राखियो, जसले यो क्यारिकेचर गरेका थिए । अर्थात महेश खड्काको नामबाट ‘खड्काजी’ न्वरान गरियो ।

यो चरित्र चाडै स्थापित भयो । अनेक किसिमको चरित्रलाई दुरुस्तै उतार्ने सीतारामको निम्ति भने टाउको दुखाई बन्यो । किनभने यो पात्रलाई टिकाइरहन उनलाई सास्ती थियो । ओंठ चिरिएका खड्काजी बनेर अभिनय गर्नका लागि ओंठलाई गिजा माथि तान्नुपर्ने । ‘त्यसो गर्दा दाँतबाट रगत आउने, भतभत पोल्ने हुन्थ्यो’ सीताराम भन्छन् ।

खड्काजीलाई मेरी बास्सैमा ‘इन्ट्री’ गराउनुअघि सितारामले ‘खडानन्द गुरु’लाई उतारेका थिए । हाँसउठ्दो त के भने, उसले टिभीमा उतारेको खडानन्द जस्तै देखिने गुरु पोखरामा रहेछन् । उनको नाम पनि खडानन्द नै । ‘उहाँले अप्ठ्यारो मानेपछि खडानन्द क्यारेक्टरलाई विदा गरियो ।’ सीताराम भन्छन् ।

पात्र र प्रवृत्ति

हामी राम्रो कुरा भन्दा नराम्रो कुरा सुन्न आतुर हुन्छौं । राम्रो कुराले भन्दा नराम्रो कुरामा मनोरञ्जन लिन्छौं । माथि उल्लेखित पात्र स्थापित हुनुमा पनि हाम्रो समाजको यही मनोविज्ञानले काम गरेको छ ।

त्यही कारण अक्सर हँसाउनका लागि ‘नेगेटिभ क्यारेक्टर’लाई शसक्त बनाइन्छ । उनीहरुको मुर्खता, दाउपेच, चालबाजी, हर्कत, मनोदसा देख्दा हामीलाई रमाइलो लाग्छ । अक्सर हास्यप्रधान कार्यक्रममा अरुको उछितो काडिन्छ । त्यसैमा हामी पेट मिचिमिची हाँस्छौ । अरुलाई बेवकुफ बनाउँदा, अरुलाई जिल्याउँदा, अरुलाई पटमूर्ख बनाउँदा हाँस्नु हाम्रो ‘सामाजिक रोग’ नै हो कि ?



यो पेज​ शेयर गर्नुहोस्