परिवर्तन संघारमा नेपाली फिल्म


काठमाडौं – सात वर्षअघि दयाहाङ राईले ‘दासढुंगा’मा अभिनय गर्दा जम्मा ३० हजार रूपैयाँ पारिश्रमिक पाएका थिए । २०६८ सालमा ‘लुट’ र त्यसको दुई वर्षपछि प्रदर्शनमा आएको ‘कबड्डी’ को सफलतासँगै दयाहाङको पारिश्रमिक बढेर अहिले १० लाख रूपैयाँ पुगेको छ । त्यतिमात्र हैन, कुनै समय फिल्ममा कसैले खेल्ने दिए हुन्थ्यो भन्ने सपना देख्ने राई आउँदो दुई वर्षका लागि ‘प्याक’ छन् । 

करिब तीन वर्षअघि डेढ लाख पारिश्रमिक लिँदै ‘होस्टेल’बाट डेब्यु गरेका थिए, अनमोल केसीले । पाँचौं फिल्मसम्म आइपुग्दा अनमोलले पारिश्रमिक रकेट झैं बढाएका छन् । नयाँ फिल्म ‘कृ’का लागि उनले २० लाख रूपैयाँ पारिश्रमिक लिएको चर्चा छ । 

एउटा गीतको सुटिङका लागि मात्र भनेर अभिनेता रमेश उप्रेती हेलिकप्टर चार्टर गरेर मनास्लु पुग्दैछन् । गीतको सुटिङका लागि लाग्ने लाग्ने खर्चको हिसाब छैन । तर, हेलिकप्टर चार्टर गरेको मात्र उनले १६ लाख रूपैयाँ तिर्दैछन् । 

हालै नेपालमा प्रदर्शनमा आएको फिल्म ‘सेतो सूर्य’ले विदेशका विभिन्न फिल्म फेस्टिभलमा अवार्ड जितिरहेको छ । कतिसम्म भने यसका निर्देशक दीपक रौनियार न्युयोर्क टाइम्सको हेर्नै पर्ने युवा निर्देशकको सूचीको उत्कृष्ठ ९ फिल्ममेकरभित्र अटाएका छन् । 

भेनिसको क्रिटिक्स बक्समा पुरस्कृत हुन सफल ‘कालोपोथी’मा पटकथाकार रहेका अविनाशविक्रम शाहले निर्देशन गर्न लागेको फिल्म ‘झ्यालिन्चा’ले फिल्म निर्माणका लागि फन्ड जितेको छ । 

माथि उल्लेखित सबै तथ्यले नेपाली फिल्मको बदलिँदो स्वरूपको आँकडा पेश गर्छन् । व्यावसायिक फिल्मले घरेलु दर्शक लोभ्याइरहेका छन् भने फरक धारका भनिने फिल्मले बिस्तारै विश्वमान चित्रमा नेपाली फिल्मको उपस्थिति दमदार बनाइरहेका छन् । नेपाली निर्माताले बिस्तारै फिल्ममा आँखा चिम्लिएर लगानी गर्न थालेका छन् । चाहे त्यो कलाकारमा होस् वा फिल्ममा । नेपाली फिल्ममा लगानीकर्ताको रुची बढिरहेको छ । बजार बढेको छ कि छैन त्यो भने अझै बहसको विषय हुनसक्छ । लगानीकर्ताको बाक्लो उपस्थिति, बढिरहेका दर्शक र विविधतापूर्ण फिल्म निर्माण बद्लिँदो नेपाली फिल्मका विशेषता हुन् । के नेपाली फिल्म उद्योग साँच्चिकै परिवर्तन हुन थालेको हो ? के नेपाली फिल्म उद्योगले लामो समयदेखि पर्खिरहेको स्वर्णाीम युग आउन लागेको हो ?

अस्कर कलेजका प्रिन्सिपल विनोद पौडेल यसलाई परिवर्तनको संकेतका रूपमा मात्र लिन्छन् । उनको भनाइ छ, ‘लक्षण देखिएका छन् । तर, परिपक्व हुन समय लाग्छ ।’

नेपालमा फिल्म निर्माणको परम्परा उत्सुकताभन्दा पनि आवश्यकताको उपजका रूपमा भित्रिएको थियो । तत्कालीन समयका राजा महेन्द्रले जन्मोत्सवको तस्बिर खिँच्न बोलाएका हीरासिंह खत्रीलाई २०२१ मा फिल्म ‘आमा’ बनाउने जिम्मा दिएका थिए, जसको असली उद्देश्य पञ्चायती व्यवस्थाको पक्षपोषण गर्नु थियो । सोही उद्देश्य पूर्तिका लागि करिब २५ वर्षभन्दा ज्यादा समय राजपरिवारको प्रत्यक्ष नियन्त्रणमा नेपाली फिल्मको निर्माण परम्पराले गति लियो । सँगै निजी निर्माताको पहलमा पनि फिल्म बन्न थाले । तर, समस्या के थियो भने कलाकारदेखि कथा र प्राविधिकसम्मका लागि पनि नेपाली फिल्म भारतमा आश्रित थियो । निर्देशक नेपाली मुलका भारतीय थिए भने फिल्मको पटकथा भारतीयले नै लेख्थे । कलाकार, निर्माता तथा निर्देशक नीर शाहले ती दिन सम्झँदै भने, ‘उतिबेला बनेका ९९ प्रतिशत नेपाली भनिने फिल्मको पटकथा भारतीयले लेख्थे । नेपाली आफैंले लेखेको फिल्मको पहिलो पटकथा सम्भवतः ‘बासुदेव’कै थियो । नेपाली फिल्ममा मौलिकता भेटिएन भन्ने आजसम्म पनि चलिरहेको गुनासोको जड सायद यही कालखण्डमा लुकेको छ ।’ 

त्यसयता नेपाली फिल्मले संख्यामा त फड्को मार्याे। तर, गुणात्मक विकासका लागि उद्योग आज पनि संघर्ष गरिरहेको छ । के ५२ वर्षीय अधवैंशे नेपाली उद्योगले समातेको परिवर्तनको लयले अहिलेको पुस्तालाई गौरवान्वित बनाएको छ ? के हरेक वर्षको वार्षिक समीक्षाको सारमा भनिए झैं नेपाली फिल्मले फड्को मार्दै गएको हो त ? 

फिल्म निर्देशक मनोज पण्डित भन्छन्, ‘परिवर्तनका लागि परिवर्तन मान्ने हो भन्ने थुप्रै कुरामा परिवर्तन आएका छन् । तर, सकारात्मक परिवर्तनको कुरा गर्ने हो भने बजारमा चर्चा हुने जत्तिको परिवर्तन भए जस्तो लाग्दैन ।’ अहिले फिल्मकर्मीले भएको संवदेनशीलता पनि गुमाएको अवस्था रहेको उनको टिप्पणी छ । ‘आफ्ना लागि भन्दा पनि बजारका लागि फिल्म बनाउने मनोविज्ञान हावी हुँदै गएको छ, जुन परिवर्तन फिल्म विकासका लागि घातक छ,’ उनी भन्छन् । 

निर्देशक पण्डित नेपाली फिल्मको परिवर्तनलाई तीन कालखण्डमा राखेर हेर्नु पर्ने जिकिर गर्छन् । उनका अनुसार राजेश हमालको उदय अघि, पछि र २०६२÷०६२ को आन्दोलनपछिको समयका आधारमा फिल्मले अँगालेको परिवर्तनलाई विश्लेषण गर्न सकिन्छ । ‘जे देखिँदै आएको थियो त्यो नदेखिनुमात्र परिवर्तन होइन । पहिलेको समयमा प्राविधिक सहजता थिएन । तर, पनि फिल्मले बन्न खोजेको कुरा मज्जाले सम्प्रेषण गर्थे,’ उनले भने, ‘२०४५/४६ को समयावधिभन्दा अघि क्रान्तिकारी फिल्म बनेका थिए । तर, हमालको आगमनसँगै फिल्मकर्मीले ‘इस्केपिसिस्ट’ (पलायनवादी) फिल्मको ओइरो लगाए, जुन परम्परा आजभोलि आएर बल्ल तोडिन खोजेको छ ।’ सफल भएका केही फिल्मले अझैं त्यो मनोविज्ञान कायम राखेको उनको भनाइ छ । सफल फिल्म समाजसँग कहीँ न कहीँ रूपमा जोडिएको उनी बताउँछन् । 

निर्देशक नवीन सुब्बा भने अहिले नेपाली फिल्ममा चलिरहेको परिवर्तनलाई एउटा सूत्रबाट निस्किएर अर्को सूत्र निर्माणको चरणमा रहेको बताउँछन् । ‘पछिल्लो समयका केही फिल्मले पुराना सूत्र छाडेको आभाष गराएका थिए । उनीहरूको यस्तो प्रयासले सफलता पनि पायो । तर, फेरि त्यसैलाई मात्र भजाउने मनोवृत्ति देखिँदा अर्को नयाँ फर्मुला बनाउन खोजेको जस्तो अनभूति हुन्छ । यो राम्रो होइन,’ सुब्बाले भने । 

पछिल्लो समय चलेको फिल्मको सिक्वेलप्रति आलोचनात्मक देखिँदै आएका सुब्बा बजारको दबाबका लागि भन्दै फिल्म बनाउने प्रवृत्ति घातक रहेको बताउँछन् । 

‘एकथरि निर्देशक घरेलु बजारको दबाबमा छन् । त्यसैले उनीहरूले घरेलु बजारलाई भन्दै फिल्म बनाइरहेका छन् । अर्कोथरि अन्तर्राष्ट्रिय बजारको दबाबमा परी फिल्म बनाइरहेका छन्,’ सुब्बा भन्छन्, ‘अर्कोले के हेर्न चाहान्छ भन्दा पनि के आफू के बनाउने भन्ने कुरामा ध्यान दिन जरुरी छ । त्यो चेतना अझै विकास भएको छैन ।’ 

धेरै समय भएको छैन, जब अभिनयको मानक नवरसले निर्माण गथ्र्यो । नवरसमा पोख्त कलाकारलाई मात्र उम्दा कलाकार मानिन्थ्यो । अझ यसमा पनि वीर रसलाई राम्ररी अभिव्यक्त गर्न सक्ने कलाकार दर्शकको रोजाइमा पथ्र्यो । तर, पछिल्लो समय कलाकारले अभिनयको यस्तो परम्परागत दायरालाई तोडेर चरित्रको मनोविज्ञानभित्र पस्ने प्रयास गरिरहेका छन् । निर्देशक सुब्बा थिएटरका कलाकारको उपस्थितिले बिस्तारै कलाकार चरित्र निर्माण तहमा पस्ने गरेको बताउँछन्, जुन पछिल्लो समयमा नेपाली फिल्ममा आएको परिवर्तनको एउटा महŒवपूर्ण पाटो रहेको उनको भनाइ छ । 

पछिल्लो समय नेपाली फिल्मले घरेलु बजारबाटै १६ करोडसम्म ग्रस कमाइ गर्न थालेका छन् । कुनै समय फिल्मले करोड ग्रस ग¥यो रे भन्दा खुसी हुने अवस्थामा नेपाली फिल्मले बजारमा जमाएको धाकले नेपाली फिल्मप्रति दर्शकको बढ्दो चासोका रूपमा व्याख्या गर्न सकिन्छ । तर, निर्देशक पण्डित आक्कल झुक्कल हुने अपवादको कमाइभन्दा निरन्तरतामा देखिने बजारको आधारमा बजारको विश्लेषण हुनुपर्ने तर्क राख्छन् । 

‘निश्चय नै पहिलेभन्दा हलमा दर्शकको चाप बढेको छ । तर, के यो बजार नेपाली फिल्म आफैंले बढाएको हो ? मलाई लाग्छ पछिल्लो समय बलिउड फिल्म कमजोर हुँदा नेपाली दर्शक केही समय बढेको जस्तो देखिएको हो तर बलिउड फिल्म राम्रा भएर आउने हो र उनीहरूसँग नेपाली फिल्मले भिडन्त गर्ने हो भने बल्ल बजारको क्षमता थाहा हुन्छ,’ पण्डितको तर्क छ । 

उनी समानान्तर धारका फिल्मप्रति दर्शकको उत्सुकतालाई भने नेपाली फिल्ममा आएको सकारात्मक परिवर्तनका रूपमा अथ्र्याउन रुचाउँछन् । ‘हिजोका दिनमा हलवाला ‘मुकुन्डो’, ‘नुमाफुङ’जस्ता फिल्म चलाउन नपरे हुन्थ्यो भन्ठान्थे । आज यस्ता फिल्म सहर्ष हलले लगाउँछन् । यस्ता फिल्मको ग्ल्यामर बढेको छ,’ पण्डित भन्छन्, ‘परम्परागत संरचना नमान्ने ज्याँ लक गोडार्ड र फेडरिको फेलानीको शैलीमै नेपालमा फिल्म बन्नु र तिनले धेरथोर दर्शक पाउनु सुखद खबर हो ।’

तर, अस्कर कलेजका प्रिन्सिपल पौडेल समानान्तर धारका फिल्मले पनि समातेको बाटोमा निर्धक्क हिँड्न नहुने तर्क गर्छन् । उनको भनाइ छ, ‘अहिलेका समानान्तर भनिएका फिल्मको बाटो हिँड्ने हो भने दुर्घटनाको सम्भावना उत्तिकै छ ।’

उनी समानान्तर फिल्मका सर्जकले ‘फेस्टिभल फन्ड ओरियेन्टेड’ फिल्मप्रति ज्यादा झुकाव राखिरहँदा हुर्कंदै गरेको नयाँ धार अग्रगामी नहुने बताउँछन् । 

‘हाम्रो मौलिकताको बहस बलिउड हलिउड फिल्मसँग मात्र सीमित हुनुहुन्न । अरुको चासोमा बन्ने फिल्ममा पनि हाम्रो नजर उत्तिकै चनाखो हुनुपर्छ,’ पौडेलले भने, ‘सर्जकले अरुको इच्छामा फिल्म बनाउनुपर्ने बाध्यतालाई जित्न सक्नुपर्छ, चाहे त्यो पूर्ण व्यावसायिक होस् वा कलात्मक फिल्म होस् ।’

पौडेल नेपाली फिल्म उद्योगले चाहेजस्तो उपलब्धिका लागि मुख्यतः दुइटा कुरामा जोड दिनुपर्ने धारणा राख्छन् । ‘पहिलो काम सरकारी तहमा हुन जरुरी छ, जसमा नेपाली फिल्मलाई परिभाषित गर्नेदेखि लिएर अरु नीतिगत काम गर्नुपर्छ । दोस्रो, दर्शकमा फिल्म लिटरेसी बढाउने काम गर्नुपर्छ र दर्शकलाई बिस्तारै हलिउड–बलिउड शैलीका फिल्मको साटो मौलिक खालका फिल्मको स्वाद बसाउनुपर्छ,’ पौडेलको सुझाव छ । 

 

 

 



यो पेज​ शेयर गर्नुहोस्